Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भट्टराई

लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले संवैधानिक अंगहरुकै व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्नका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको स्थापना गर्नुपरेको पनि स्मरण गराउनुभयो । अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले सरकारले नयाँ पुस्तालाई समेत हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्ने गरी भाषा आयोग, महिला आयोग, मधेशी आयोग र विभिन्न प्रतिष्ठानहरुको गठन गरी त्यसको खोज र अनुसन्धानको कामलाई निरन्तरता दिईरहेको पनि बताउनुभयो । मन्त्री भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ, संस्थाहरुले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले सांस्कृतिक सम्पदाहरुको पनि संरक्षण हुने गरी ‘सांस्कृतिक नीति’ बनाएकोमा खुसी व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

यसैबीच, अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *