काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको काश्मिरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम वस्तीको स्थानान्तरणबारे सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले काश्मिर समस्या बारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दैछ भन्ने संदेश गएको उल्लेख गर्दे उहाँले यस्तो संदेशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिनुभयो । राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले बाजुराका विभिन्न गाउँ बाढी पहिरोको जोखिमको खतरामा रहेको भन्दै जोखिम युक्त बस्तिका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभा सदस्य खेमराज नेपालीले मैथिली भाषालाई रेडियो नेपालको केन्द्रीय प्रशारणबाट हटाईएकोमा गम्भीर आपत्ती जनाउनुभयो । राष्ट्रियसभाको अर्को बैठक आईतबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।