Saturday, January 18, 2025
Home > मुख्य समाचार > राष्ट्रपति भण्डारी चीनमा सुरु बीआरआईको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी

राष्ट्रपति भण्डारी चीनमा सुरु बीआरआईको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी

एजेन्सी । राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनले आयोजना गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएको छ ।

चीनको बेइजिङमा आज बिहान सुरु भएको बीआरआई शिखर सम्मेलनमा राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली सहभागी भएको हो । चीनका राष्ट्रपति सी जिनपिङको पहलमा अगाडि बढेको बीआरआई परियोजनामा नेपालले दुई वर्षअघि हस्ताक्षर गरेको थियो । जसअन्र्तगत अहिले नेपालले कनेक्टिभिटी र जलविद्युतसहित ९ वटा परियोजना प्रस्ताव गरेको छ । उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी जिनपिङले बीआरआई परियोजना कार्यान्वयनको चरणमा रहेको र व्यवहारिक सहकार्य हासिल गर्नु यसको उद्देश्य भएको बताउनुभयो । उहाँले बीआरआईले विकासशील राष्ट्रका लागि नयाँ अवसर सिर्जना गर्ने र चीनको खुलापन तथा सुधारको क्षेत्रमा नयाँ परिदृष्य खोल्ने बताउनुभयो । चीनले अगाडि सारेको बीआरआई परियोजनामा १ सय ५० बढी देश सहभागी छन् । गत वर्ष भएको पहिलो बीआरआई सम्मेलनमा पनि नेपाल सहभागी भएको थियो । बीआरआईप्रति असहमति जनाउँदै आएको भारतले सम्मेलनमा सहभागिता जनाएको छैन । तीन दिनसम्म चल्ने सम्मेलनमा ३७ देशका राष्ट्र तथा सरकार प्रमुख र उच्च नेता सहभागी छन् । यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताउनुभयो । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *