Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > राउण्ड टेबल नेपालले ९ जना विद्यार्थीलाई हवाईयात्राबाट काठमाडौ भ्रमण गरायो

राउण्ड टेबल नेपालले ९ जना विद्यार्थीलाई हवाईयात्राबाट काठमाडौ भ्रमण गरायो

राउण्ड टेबल नेपालले सामुदायिक विकासका निम्ति नेपालभरी विभिन्न गतिविधि संचालन गर्दै आएको छ । राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाँउपालिकास्थित नेबुवामा प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा ल्याउनुका साथै सोही ठाउँको श्रीसरस्वति आधारभूत विद्यालयमा पानी प्रशोधन प्लान्टको व्यवस्था गरेको छ । सो संस्थाले सामुदायिक विद्यालयका ९ जना विद्यार्थीलाई हवाईयात्रबाट काठमाडौका विभिन्न स्थानको भ्रमण समेत गराएको छ ।

शिक्षाबाट स्वतन्त्रताको नारासहित देशभरि शैक्षिक उन्नयनका कार्यक्रमहरु संचालन गर्दै आएको राउण्ड टेबल नेपालले शनिवार बिहान सामुदायिक विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई हवाई जहाज मार्फत काठमाण्डौका विभिन्न ठाउँको अवलोकन भ्रमण गराएको छ । विराटनगरकै हाटखोलास्थित सुशिक्षा आधारभूत विद्यालयका विद्यार्थीलाई सो भ्रमण गराएको हो । सो विद्यालयमा अध्यनरत कक्षा ५ देखी ७ सम्मका ९ जना विद्यार्थीलाई उमंगको उडान कार्यक्रम अन्र्तगत पहिलो पटक जहाज मार्फत काठमाण्डाको भ्रमण गराइएको हो । शनिवार बिहान विराटनगर विमानस्थलबाट काठमाण्डौतर्फ उड्नुअघि विराटनगर महानगरपालिका मेयर भीम पराजुली, राउण्ड टेबलका अन्तर्राष्ट्रिय सचिव मार्क जर्मेसहाउसन लगायतले विद्यार्थीहरुलाई शुभकामना दिंदै विदाई गर्नुभयो । राउण्ड टेबलको मुल नाराको उद्धेश्य अनुसार विद्यार्थीलाई काठमाण्डौ भ्रमण गराइएको टेबल ५ का चेयरमेन अश्विनी बंशलले जानकारी दिनुभयो ।

शनिवार बिहान उडेका विद्यार्थी शनिवार सांझै काठमाडौको शैक्षिक भ्रमण सकेर हवाई जहाज मार्फत नै विराटनगर फर्किएका छन । यसैबीच राउण्ड टेबल ११ ले शनिवारदेखि मोरङको बुढीगंगा गाँउपालिका–४स्थित नेमुवामा राउण्ड टेबल प्राथमिक उपचार केन्द्र संचालनमा ल्याएको छ । यसअघि सन २०११ देखि सोहि ठाँउमा प्राथमिक बालबालिका उपचार केन्द्र संचालन गर्दै आएको टेबलले विराट शिक्षण अस्पताल तथा राउण्ड टेबल अष्ट्रिया फाउण्डेशनको सहयोगमा इर्मजेन्सी सेवा सहितको प्राथमिक उपचार केन्द्र संचालनमा ल्याएको हो । राउण्ड टेबल ११ ले सो विद्यालयकाले अभिभावकत्व ग्रहण गरी उपचार केन्द्र संचालनमा ल्याएको हो ।  विराट मेडिकल कलेजको सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्की, राउण्ड टेबलका अन्तर्राष्ट्रिय सचिव मार्क जर्मेसहाउसन, बुढीगंगा गाँउपालिकाका प्रमुख बालचन्द माझी र राउण्ड टेबल नेपालका प्रेशिडेन्ट सौरभ केडियाले उपचार केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । १५ लाखको लगानीमा संचालनमा ल्याइएको केन्द्रमा मेडिकल अफिसर सहितको टोलीले स्वास्थ्य सेवा प्रदान गर्ने जनाइएको छ । राउण्ड टेबलले देशभरिमा हालसम्म ४७ वटा विद्यालयका लागि ३ सय २२ वटा कोठा निर्माण गरेको र त्यसबाट २० हजार बढी विद्यार्थीले लाभ लिइरहेका राउण्ड टेबल नेपालका नेशनल प्रेशिडेन्ट सौरभ केडियाले जानकारी दिनुभयो ।

राउण्ड टेबल ११ ले सरस्वती सदनका विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित खानेपानी प्रशोधन प्लान्ट समेत जडान गरेको छ । सो विद्यालयमा राउण्ड टेबलले सन २०११ यता करिब डेढ करोड बढी लगानी गरिसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *