Saturday, January 18, 2025
Home > मुख्य समाचार > मोरङको लेटाङ नगरपालिस्थित चिसाङ खोलाको दोहन रोकिएन

मोरङको लेटाङ नगरपालिस्थित चिसाङ खोलाको दोहन रोकिएन

मोरङ । मोरङको लेटाङ नगरपालिको १ र ६ नम्बर वडामा पर्ने चुरे क्षेत्रबाट गैर कानूनी रुपमा ढुंगागिट्टी उत्खनन्को काम भइरहेको छ । नियम अनुसार चुरे क्षेत्रबाट ठूला मेसिन लगाएर उत्खनन् गर्न पाइँदैन । तर, चिसाङ खोलामा रहेका आधा दर्जन बढी क्रसर उद्योगले आधा दर्जन बढी एक्स्साभेटर प्रयोग गर्दै त्यहाँ उत्खनन् गरिरहेका छन् ।

लेटाङ नगरपालिकाको १ र ६ नम्बर वडामा रहेको चिसाङ खोलाको चुरे क्षेत्रमा ढुंगा गिट्टी उत्खनन् र दोहन अत्याधिक बढेको छ । यो विषयमा पटक–पटक आवाज उठाउँदा पनि रोक्ने कुनै पहल नभएको सांसद तथा जनप्रतिनिधि नै बताउँछन् । सो क्षेत्रका सांसद उपेन्द्र घिमिरेले डिआइजि, सिडिओ, एसपी, जिल्लासमन्वय समिति सबैलाइृ भन्दा पनि रोक्न पहल कसैबाट नभएको बताउनुभयो । लेटाङ नगरपालिकाले तेली खोलाको ३ वटा नाका र चिसाङको ७ वटा नाकाबाट खोलाजन्य वस्तु उत्खनन्को ठेक्का लगाएको छ । नगरपालिकाका अनुसार ४ करोड ५ लाखमा ठेक्कामा लगाएको हो । क्रसरले अत्याधिक खोला खनेको कारण पानी सुक्न थालेको छ । अनुगमनका क्रममा १ मिटर खन्नुपर्नेमा अढाइ मिटरसम्म खनिएको छ । नगरपालिकाले नै खोलाजन्य वस्तुको उत्खनन्को ठेक्का लगाउने हो । खोला उत्खननका कारण पैनी र पानीका मुहान सुक्दै गएको अवस्था छ । जसका कारण चुरे विनाश हुने अवस्थामा पुगेको स्थानीयको भनाई छ ।

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला पनि चुरे उत्खनन् गर्ने बारे आफूलाई जानकारी नभएको बताउनुहुन्छ । अनुगमनका क्रममा त्यस स्थानमा अत्याधिक दोहन भएको पाइएको उहाँको भनाइ छ । लेटाङका मेयरको मिलेमतोमा भएको उत्खनन् आफुले रोक्न नसकेको उहाँको भनाइ छ । खोला उत्खनन्को विषयमा सरोकारवाला निकायले देखेको नदेखेझैं गर्नुले जनप्रतिनिधिकै मिलेमतो देखिएको स्थानीयको भनाइ छ । विकास निर्माणका लागि खोलाजन्य वस्तु आवश्यक हुन्छ । सरकारले उक्त वस्तु निकासीका लागि स्थानीय सरकारलाई खोला ठेक्कामा लगाउने अधिकार दिएको छ । तर स्थानीय तहकै जनप्रतिनिधिको मिलेमतोमा प्राकृतिक सम्पदाको दोहन हुने परिपाटीले हाम्रो पर्यावरणको क्षेत्रमा ठूलो जोखिम मोल्नु पर्ने स्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *