Saturday, January 18, 2025
Home > मुख्य समाचार > मेलम्ची खानेपानी आयोजनाको काममा समस्या छैन : प्रधानमन्त्री

मेलम्ची खानेपानी आयोजनाको काममा समस्या छैन : प्रधानमन्त्री

काठमाडौं, १९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीब्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने विश्वास पनि व्यक्त गर्नुभयो । आज ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको उल्लेख गर्दै अहिले अलिकति गतिरोध आए पनि त्यसलाई समयमै पूर्णता दिन सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले हरेक दिन एक पाईला अघि बढने गरी सरकारले विकास निर्माणको कामलाई अघि बढाएको दावी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बागमती नदीलाई नुहाउन मिल्ने गरी पूरानै अवस्थामा परिणत गर्ने प्रतिवद्धता पनि दोहोर्याउनुभयो । उहाँले काठमाडौं उपत्यकामा स्वच्छ हावा, सफा र पीउन योग्य पानी बनाउने संकल्पप्रति सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । चाइनाको साफबोन वाटर सर्भिस होल्डिङले सो प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी लिएको छ । कूल ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो प्रशोधन केन्द्र ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *