Saturday, January 18, 2025
Home > मुख्य समाचार > मिडिया काउन्सिल विधेयकको विरोध गर्दै मोरङका पत्रकार धरधरी रोए

मिडिया काउन्सिल विधेयकको विरोध गर्दै मोरङका पत्रकार धरधरी रोए

विराटनगर । सरकारले संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरुद्ध मोरङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धरधरी रुँदै सांकेतिक विरोध जनाएका छन् ।

नेपाल प्रेस युनियन मोरङको अगुवाइमा भएको कार्यक्रममा प्रशासन कार्यालयअगाडि आधा घन्टा रोएर विधेयको विरोध जनाएका हुन् । सरकारले नेपाल मिडिया आउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदबाट हुबहु पारित भए पत्रकारहरुले यथार्थमै रुने दिन आउने र पत्रकारिताबाटै पलायन हुने अवस्था आउने विरोधमा सहभागी पत्रकारहरुले बताएका छन् । पत्रकारहरु डाको छाडेर रुन थालेपछि प्रशासन कार्यालयमा पुगेका सेवाग्राही र स्थानीय व्यवसायी, सर्वसाधारणको भीड नै लागेको थियो । धर्नापछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका प्रदेश–१ का संयोजक लीलाबल्लभ घिमिरेले विधेयक पत्रकारलाई नियमन गर्नभन्दा पनि नियन्त्रणमुखी भएर आएको बताउनुभयो । उहाँले पत्रकारलाई थुन्नु नै पर्छ भन्ने उद्देश्यले अभिप्रेरित भएर आएको विधेयकलाई तत्काल सच्याउन माग गर्नुभयो ।  त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेलले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा ल्याइएको जरिवानासम्बन्धी व्यवस्था नै गलत भएको बताउनुभयो ।

विधेयक नसच्याए अझै कडा आन्दोलनमा उत्रिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले चेतावनी दिनुभयो । विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको आव्हानमा देशव्यापी आन्दोलन भइरहेको छ । सोही आन्दोलनका क्रममा प्रेस युनियन मोरङले विरोधको नयाँ कार्यक्रम ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *