काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीहरुलाई आग्रह गर्नु भएको छ ।
अध्यक्ष दाहालले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको दावी पनि गर्नु भयो । अध्यक्ष दाहालले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि पटकपटक दोहोर्याउनु भयो । अध्यक्ष दाहालले पूर्ण प्रेस स्वतन्त्रताको अर्थ फेरी अराजकता होइन, उदण्डता होईन भन्ने कुरामा बढि ध्यान दिने काम संचारकर्मीहरुले नै गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । पत्रकारिता क्षेत्रलाई राज्यले नियन्त्रण र नियमन गर्ने भन्दा पनि पत्रकार स्वयम्ले आफ्ना लागि कस्ता मूल्य र मान्यता आवश्यक पर्छ ? भनेर गम्भिर भएर सोच्नुपर्ने बेला आएको पनि अध्यक्ष दाहालको भनाई थियो ।