मोरङ, २४ पुष । मोरङको कानेपोखरीस्थित चिसाङ खोलाबाट मापदण्ड विपरीतको अवैध ढुंगा गिटी उत्खनन रोक्न माग गर्दै स्थानियले प्रदर्शन गरेका छन ।
अवैध ढंगले चिसाङ खोलाबाट ढुंगा गिट्टी र बालुवा निकालिएको भन्दै कानेपोखरी ५ र बेलबारी ८ का स्थानीयले आज कानेपोखरीस्थित पूर्व पश्चिम राजमार्गमा केहीबेर प्रर्दशन गरेका छन् । मोरङ क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद सूयर्माराज राईकै अगुवाईमा राजमार्ग अवरुद्ध गर्दै प्रर्दशन गरिएको हो । सडकमा कोणसभा गर्दै उनीहरुले जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, प्रमुख, एसपी तथा डिआइजीको मिलेमतोमा ढुंगा गिट्टी तस्करी भएको दाबी गरेका छन् । कोणसभामा बोल्नुहुंदै १ नम्बर प्रदेशसभा कांग्रेसका सचेतक समेत रहनुभएका सांसद राईले तस्करसँगको मिलेमतोमा प्राकृतिक सम्पत्तीको दोहन भएको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुंदै जनजागृति सामुदायिक वनका सदस्य तीर्थ कार्कीले अवैध उत्खनन तत्काल रोक्नुपर्ने माग गर्नुभयो । उहाँले मिलेमतोमा हुने अवैध उत्खनन नरोके स्थानियले आन्दोलनका कडा कार्यक्रम ल्याउन चेतावनी दिनुभयो ।