Saturday, January 18, 2025
Home > मुख्य समाचार > माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्यमा तीब्रता

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्यमा तीब्रता

दोलखा, ११ फागुन । मुलुककै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य तीब्रताका साथ भइरहेको छ ।

आयोजनास्थल दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगर पुगेर आयोजना निर्माणको अध्ययन भ्रमणपछि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजनाको निर्माण कार्य तिब्र गतिमा अघि बढेको बताउनुभयो । उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोस्रो पटक आयोजना स्थल पुगेका मन्त्री पुनले निर्धारित समय भित्रै निर्माण सम्पन्न गर्ने गरि आयोजनाको काम भईरहेको आफुले पाएको भन्दै सुखी व्यक्त गर्नुभयो । उहाँले ठुला आयोजना नेपालीले गर्न सक्छन् भन्ने कुराको नमूना नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको टिप्पणी गर्नुभयो । मन्त्री पुनले मुलुककै ठूलो आयोजना भएकाले साना ठूला समस्या आईनै रहने भएपनि पछिल्लो समयमा भएको निर्माणको गतिलाई हेर्दा २०७६ मंसिरमा नै आयोजनाले परिक्षण उत्पादन गर्नेमा आफु विश्वस्त भएको प्रतिक्रिया दिनुभयो । उर्जा मन्त्री पुनसँगै राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको अध्ययन टोलीलाई आयोजनाका प्रमुख कार्यकारी विज्ञानप्रसाद श्रेष्ठले निर्माण कार्यमा भएको प्रगति तथा समस्या र चुनौतिबारेमा जानकारी गराउनुभएको थियो । उहाँले अहिलेसम्म प्रसारण लाइन तथा सबस्टेसन निर्माणको ८५ प्रतिशत काम पूरा भएको र त्यसका लागि ४४ अर्ब ७ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो । निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो । २०६५ सालमा ३५ अर्ब २९ करोड लागत अनुमान गरिएको यस आयोजनाको २०७४ पुसमा ४९ अर्ब २९ करोड रुपैयाँ लागत पुगेको थियो । आयोजनाका प्रमुख कार्यकारी श्रेष्ठले आगामी मंसिरमा परीक्षण उत्पादन सुरु गर्ने गरी काम भइरहेको र व्यवसायिक उत्पादनका लागि थप केही समय लाग्ने बताउनुभयो ।

मन्त्री पुनको टोलीले आयोजनाको बाँध, सुरुङ तथा विद्युत्गृहको अवलोकन गरेको थियो । ४ सय ५६ मेगावाट क्षमताको मुलुककै ठूलो जलविद्युत् आयोजनामा भारतीय, चिनिया, यूरोपेली विज्ञहरु र कामदार तथा ठेकेदारहरु संलग्न छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *