Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोको पक्षमा बढ्दो अन्तर्राष्ट्रिय समर्थन

भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोको पक्षमा बढ्दो अन्तर्राष्ट्रिय समर्थन

भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोले देशमा गृहयुद्ध निम्तिने राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई खण्डन गर्नुभएको छ । गुवाइदोले गृहयुद्धको कल्पना गर्नु हाँस्यास्पद भएको टिप्पणीसमेत गर्नुभएको छ । यसअघि राष्ट्रपति मादुरोले अमेरिकालगायतका देशले गुवाइदोलाई उकासेको भन्दै राजनीतिक संकट कायमै रहेमा गृहयुद्ध हुने चेतावनी दिनुभएको थियो । यसैबीच युरोपियन युनियनले भेनेजुयलाका विपक्षी नेता गुवाइदोलाई नै अन्तरिम राष्ट्रपतिको मान्यता दिएको छ । बेलायत र इयुमा आवद्ध देश जर्मनी, फ्रान्स, डेनमार्क, अस्ट्रिया, स्वीडेन, स्पेनलगायतले आफूलाई राष्ट्रपति घोषित गरेका गुवाइदोलाई अर्को चुनाव नहुन्जेलसम्मका लागि अन्तरिम राष्ट्रपतिको मान्यता दिएका हुन् । इयूले यसअघि राष्ट्रपति निकोलस मादुरोलाई नयाँ निर्वाचनको मिति घोषणा गर्न आइतबारसम्मको समय दिएको थियो । आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुवाइदोलाई अमेरिकाले तत्काल समर्थन गरेको थियो । त्यसलगत्तै क्यानडा, ब्राजिल, अर्जेन्टिना र कोलम्बियालगायतका दक्षिण अमेरिकी देशले पनि गुवाइदोलाई मान्यता दिएका थिए । राष्ट्रपति निकोलस मदुरोलाई भने रुस र चीनले साथ दिएका छन् । राजनीतिक संकट गहिरिँदै गएपछि भेनेजुएलामा आर्थिक संकट चुलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *