Saturday, January 18, 2025
Home > खेलकुद समाचार > भुटानसंग नेपालको लज्जास्पद हार

भुटानसंग नेपालको लज्जास्पद हार

तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
आज भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो । हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । बल पोजिसनमा पकड जमाएपनि नेपालले खेलको ४१ औं मिनेटमा गोल खाएको थियो । नेपाली डिफेन्डरले बल क्लियर गर्न नसक्दा भुटानका यशी दोर्जीले गोल गरेका थिए । दोस्रो हाफमा भुटानले पनि अग्रता दोब्बर बनाएको थियो । नेपालका विशाल बस्नेतले डिबक्स भित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जिङ जिग्मीले गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा गोल गर्दै भुटानले ३–० को जित निकाल्यो । हारसँगै समूह ए मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले २ खेलमा १ अंक जोडेको छ । भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले १ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक रहेको छ । अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ । उक्त खेलमा भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ । बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *