Saturday, January 18, 2025
Home > मुख्य समाचार > भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको नाममा सडकको नामाकरण गर्ने घोषणा

भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको नाममा सडकको नामाकरण गर्ने घोषणा

विराटनगर, २५ फागुन । विराटनगर महानगरपालिकाले मूर्धन्य साहित्यकार एवं भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको नाममा सडकको नामाकरण गर्ने घोषणा गरेको छ ।

विराटनगर महानगरपालिकाले आज आयोजना गरेको श्रद्धाञ्जलीसभामा मेयर भीम पराजुलीले ट्राफिक चोकदेखि पोखरेलको निवास निलसदनसम्मको सडकलाई बालकृष्ण मार्ग नामाकरण गर्ने घोषणा गर्नुभयो । उहाँले सडकको नामाकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभयो । मेयर पराजुलीले भाषा, साहित्यसँगै खोज र अनुसन्धानमा अतुलनीय योगदान पु¥याएकाले पोखरेलको नाममा सडकको नामाकरण गर्न लागिएको प्रस्ट पार्नुभयो । श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले पोखरेलको निधनले मुलुकलाई नै अपुरणीय क्षति पुगेको टिप्पणी गर्नुभयो । पोखरेल बहुमुखी प्रतिभाको धनी भएको चित्रण गर्दै तुम्वाहाङले धेरै भाषाको ज्ञाता मात्रै नभएर विज्ञ पनि भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले भाषाशास्त्री पोखरेलले नेपाली भाषा साहित्यमा पु¥याएको योगदान तुलना नै हुन नसक्ने दाबी गर्नुभयो । प्रा.डा. टंक न्यौपाने, प्रा.डा. बद्रीविशाल पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, समाजसेवी इन्दिरा रिजाल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले भाषाशास्त्री पोखरेलको योगदानको चर्चा गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा विभिन्न स्रष्टाले शोक कविता वस्तुत गरेका थिए ।नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेतासमेत रहनुभएका साहित्यकार पोखरेलको यही फागुन १२ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । उहाँका वृहत नेपाली शब्दकोष, खस जातिको इतिहास, पाँच सय वर्ष, नेपाली–अंग्रेजी–नेपाली शब्दकोषसहित ११५ वटाभन्दा बढी कृति प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *