झापा । भारतीय नम्बर प्लेटको सवारीसाधन चढेर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक सुनको गरगहनासहित रंगेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला सिलगुढी बस्ने ४३ वर्षीय रघुबरप्रसाद साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनलाई आज बिहान पत्रकार सम्मलेनमार्फत जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ । सिसी क्यामेरा फुटेजको सहयोगमा भारतीय नागरिक साहलाई ठूलो परिणामको सुनको गरगहना चोरी गरी भाग्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार कमल गाउँपालिका ६ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने ३५ बर्षीया ललिता सापकोटा, गीता पौडेल र ३५ बर्षीया मधु गुप्ताको घरबाट बुधवार दिउँसो कोही नभएको मौका छोपी साहले चोरी गरेका थिए । उनी चढेको गाडी चेकजाँच गर्दा चोरी गरिएको लाखौँ मूल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली ३८ हजार र भारतीय १३ हजार ७ सय रुपैयाँ बरामद भएको छ ।