Saturday, January 18, 2025
Home > मुख्य समाचार > बुधनगरस्थित कस्टम यार्डमा साँघुरो, सामान लोड अनलोड तथा पार्किङको समस्या हुनसक्ने

बुधनगरस्थित कस्टम यार्डमा साँघुरो, सामान लोड अनलोड तथा पार्किङको समस्या हुनसक्ने

भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्न सक्नेगरी रेलमार्ग निर्माण भइसकेको छ । उक्त रेलमार्गबाट मालबहाक रेलले नेपालमा आयात हुने मालबस्तु ल्याउने छ । कार्गोबाट सामान आउन थालेपछि सडकको ८० प्रतिशत चाप बुधनगरस्थित कस्टम यार्डमा सर्नेछ । कस्टम यार्ड साँघुरो हुँदा सामान लोड अनलोड तथा पार्किङको ठूलो समस्या देखिएको छ

कार्गो ट्रेनको कस्टम यार्ड कटहरीमा निर्माणाधिन छ । तर, नेपालको पहिलो बिन्दु बुधनगरमा भने कस्टम यार्ड साँघुरो हुँदा सामान लोड अनलोड तथा पार्किङको ठूलो समस्या देखिने भएको छ । जसका कारण अहिले तत्कालै कार्गोबाट सामान आयात–निर्यात हुने र तत्कालै लाभ लिनसक्ने आशा निराशामा बदलिने भएको छ । तत्काल त्यस ठाउँमा भएको खाली जग्गाको मुआब्जा दिएर खाली नगरे नेपालमा कार्गो (मालबहाक रेल) नआउने सम्भावना बढ्दो छ । कार्गो ट्रेन आउन थालेपछि हाल सडकमा देखिएको लोडमध्ये ८० प्रतिशत त्यस ठाउँमा हुनेछ । तर, बुधनगरको कस्टम यार्डमा खाली कन्टेनरसमेत लगेर राख्ने ठाउँ छैन ।

निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आइसिपि) सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिकरुपमा कार्गो रेलबाट सेवा सुरु हुने बताइएको छ । भारतको बन्दरगाहमा लोड भएको सामान जोगवनी हुँदै नेपालसम्मै ढुवानी गर्ने उद्देश्यले जोगवनी कटहरी रेल्वे लाइन बिस्तार गरिएको थियो । अहिले बनेको यार्डमा थोरै संख्यामा मात्र कन्टेनरहरु राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौंको संख्यामा कन्टेनरहरु ढुवानी गरेर ल्याउँछ । बुधनगरदेखि कटहरीसम्म रेलवे लाइन विस्तारको काम भइरहेको र कटहरीमा पनि यार्ड बन्ने भएकोले तत्काल बुधनगरमा विस्तार नगर्ने हो कि भन्नेमा सरकार अलमलिएको देखिन्छ । उद्योगी बोहरा भने सरकारले तत्काल यार्ड विस्तार गर्ने प्रकृया अघि बढाउनुपर्नेमा जोड दिनुहुन्छ ।  विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले रेल्वे कस्टम यार्ड विस्तार गर्नुपर्ने सुझाव भन्सार विभागलाई गराइसकेको जानकारी दिनुभयो । अहिलेको यार्डसँगै जोडिएको पूर्व तर्फको जमिन अधिग्रहण गरेर यार्ड विस्तार गर्न सकिने सम्भावना रहेकाले त्यसको जानकारी पनि विभागलाई गराएको उहाँले बताउनुभयो ।

रेलबाट सामान ल्याउँदा ढुवानी खर्चमा धेरै बचत हुन्छ । रेल सञ्चालनका लागि सबै पूर्वाधार तयार भइसकेको छ । यद्यपी विराटनगर भन्सार कार्यालयले नै बुधनगरको यार्ड विस्तार गर्नुपर्ने सुझाव दिएकोले विभागले सोही अनुसार योजना बनाउने उहाँको भनाई थियो ।  विराटनगरको बुधनगरमा निर्माण गरिएको एकीकृत भन्सार जाँच केन्द्र भन्सार विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । त्यससँगै यात्रु तथा सबै मालबहाक ट्रक सोही मार्ग हुँदै विराटनगर गन्तव्यसम्म पुग्नेछन् । कार्गो रेलबाट सोझै नेपालसम्म सामान ढुवानी गर्ने सपना भने यार्ड साँघुरो भएकै कारण तत्काल पुरा नहुने भएको छ । यसतर्फ सरकारले चाँडो चासो दिएर जग्गा मुआब्जाको प्रक्रिया सुरु गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *