Saturday, January 18, 2025
Home > मुख्य समाचार > बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित

बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित

वैशाख १५ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ ।

नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् । बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहेको थियो । करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मेलनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ । ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् । जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ । ट्रान्स हिमालय कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीलाई बीआरआई परियोजनामा जोड्नुपर्छ भन्ने नेपालको प्रस्तावलाई ‘एनेक्स’ मा सूचीकृत गरिएको छ । ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटीमा नेपाल र चीन जोडिएसँगै अब हिमाली क्षेत्रको पर्यावरण एवं जलवायु परिवर्तनसम्बन्धी परियोजनाहरुका साथै रेल्वे सञ्जाल विस्तारमा चीनले योगदान गर्ने विश्वास नेपाली पक्षले लिएको छ । यसैवीच, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनवीच हजारौं वर्षदेखि रहँदै आएको सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताउनु भएको छ । बेइजिङस्थित नेपाली दूताबासले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा आयोजना गरेको रात्रिभोजमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *