Saturday, January 18, 2025
Home > मुख्य समाचार > बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालक

बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालक

विराटनगर, २० पुष । विराटनगरस्थित बाल सुधार गृहमा क्षमता भन्दा दोब्बर बालकहरु राखिएको पाइएको छ ।

बालबालिकाले अपराध गरेको ठहरिए पनि उनीहरूलाई अपराधी वा खराब व्यक्तिका रुपमा नहेरी सुधारात्मक व्यवहार गर्ने उद्देश्यले बाल सुधारगृह संचालनमा ल्याइएको हो । तर ५० जनाको क्षमता रहेको विराटनगरस्थित बाल सुधारगृहमा अहिले १ सय ३ जना बालक राखिएको छ । पाँच वर्ष देखि संचालनमा रहेको सुधार गृहमा क्षमता भन्दा दोब्बर बालक राखिँदा उनिहरुको दैनिकी कष्टकर बनेको छ । साथै उनीहरुको पठन पाठनमा समेत समस्या देखिएको छ ।

क्षमता भन्दा बढी संख्यामा हुदा उनीहरुको दैनिक आनिबानीको विश्लेषणमा पनि समस्या देखिएको सुधार गृहले जनाएको छ । अहिले मोरङ बाल सुधार गृहमा भएका बालबालिकाहरुलाई व्यवस्थापन गर्नु बाहेकको विकल्प नभएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीको भनाइ छ । एउटै खाटमा दुईजना सुताएर, खाटमा तला थपेर व्यवस्थापन गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । आवश्यक पुर्वाधार बनाउनकोलागी पनि सम्बन्धित विभागसँग पहल भइरहेको उहाँले जानकारी दिनुभयो । १८ वर्ष पुगेपछि कारागार पठाउने विषयमा कानुनी व्यवस्था नहुदा पनि समस्या देखिएको सुधार गृहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *