काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको समिति बैठकले यथासिघ्र बक्यौता उठाउने कारवाही अघि बढाउन निर्देशन दिएको हो । साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरी समितिमा नियमित रुपमा प्रगती विवरण बुझाउन पनि निर्देशन दिईएको छ । बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारवाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिनाभित्र नयाँ बोलपत्र आव्हन गरी प्रतिष्पर्धाबाट भाडामा लगाउन निर्देशन दिएको छ । बैठकले विमानस्थल भंसार कार्यालयबाट प्राधिकरणले उठाउन बाँकी रकमका सम्बन्धमा भने यथासिघ्र किनारा लगाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।