विराटनगर । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुन नदिने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाले मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान रहेको बताउनुभयो । जर्बजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुन नदिने उहाँले बताउनु भयो । संसदमा दर्ता गरिएको सुरक्षा परिषद तथा मानवअधिकार सम्वन्धी विधेयकपनि फिर्ता लिन उहाँले सरकारलाई आग्रह गर्नुभयो । लोकतन्त्रको मूल्य र मान्यता विपरित आएको तिनवटै विधेयक कुनैपनि अवस्थामा पास हुन नदिने देउवाको भनाई छ । सरकारले बजेट एकपक्षीय ढंगले ल्याउने भन्दै देउवाले विपक्षीको मागलाई सम्बोधन नगरे विरोध गर्ने तर उहाँहरुले जसरी रेलिङ नभत्काउने बताउनुभयो । सभापति देउवाले संचारमाध्यमले के लेख्ने हुुने वा के नलेख्न हुुने भन्ने विषयमा पत्रकार र संचारमाध्यम आफै गम्भीर भएकाले प्रेसमाथि अंकुश लगाउने गतिविधि कांग्रेसलाई मान्य नहुने वताउनुभयो । देउवाले कांग्रेसले सुरु गरेको जागरण अभियानले कांग्रेसलाई एकतावद्ध बनाउन बल पुगेको वताउनुभयो । देउवाले सरकारको गठन भएको डेढवर्ष भएतापनि जनताले अनुभुति गर्ने गरी सरकारले कामगर्न नसकेको वताउनुभयो ।