Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश १ सरकारद्धारा २७ वटा पुल निर्माणको काम सुरु

प्रदेश १ सरकारद्धारा २७ वटा पुल निर्माणको काम सुरु

भौतिक पूर्वाधार विकासमा जोड दिँदै आएको प्रदेश सरकारले यो वर्ष २७ वटा पुल निर्माणको काम सुरु गरेको छ । स्वीस सरकारको स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोगमा प्रदेशका विभिन्न जिल्लामा धमाधम पुलहरु बनिरहेका छन् । प्रदेशका ती पुलहरुको प्राविधिक अध्ययन, विस्तृत परियोजना विवरण र लागत निर्धारणको काम सम्पन्न भइरहेको छ ।

सडक तथा पुल निर्माणको कामलाई प्राथमिकता दिने क्रममा मोरङको बेलबारी नगरपालिका ७ को डाँगी टोल र बेलबारी ७ को सतार टोल जोड्ने कयर खोलामा पुलको शिलान्यास गरियो । बाहुनी–कसेली सडक खण्डमा पर्ने कयर खोलाको पुलबाट त्यस भेगका हजारौं नागरिकहरु लाभान्वित हुने स्थानीयको भनाइ छ । खोलामा पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएको र बालबालिकाहरुलाई विद्यालय आवतजावतमा समेत कठिनाई भइरहेको थियो ।  बि.टि. निर्माण सेवाले २२ मिटर लामो सो पुल २ करोड ९४ लाख ४० हजार रुपैयाँमा बनाउने ठेक्का लिएको छ । उसले आगामी बैसाख महिनाभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ । पुल शिलान्यास गर्दै प्रदेशसभा सदस्य विश्वासले पुल बनेपछि प्रदेश राजधानी जोड्ने त्यस क्षेत्रको सबैभन्दा छोटो सडक हुने बताउनुभयो ।

मोरङ र सुनसरीमा २२ वटा पुल मध्ये ४ वटा निर्माणाधिन छन् । २ वटा पुल सम्झौताको तयारीमा रहेको र अन्य पुलकोे ठेक्का लाग्ने प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले बताउनु भयो । संघीय सरकारबाट प्रदेश १ मा ५ वटा ठूला र खोटाङ जिल्लामा स्थानीय तहले अघि बढाएको एउटा र प्रदेश सरकारबाट २७ वटा पुल प्रदेशमा बनिरहेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका लागि विनियोजन गरेको कुल बजेटको झण्डै ४५ प्रतिशत बजेट सडक र पुलमै खर्च हुनेछ । प्रदेश सरकारले बजेट खर्च नहुने विगतको परिपाटी तोड्ने भन्दै विकास निर्माणको कामलाई तीब्रता दिएको जनाएको छ । सोही अनुसार सबै पूलको ठक्का प्रक्रिया छिटो टुंग्याउनु पर्ने आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *