Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश १ को प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक

प्रदेश १ को प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक

प्रदेश १ को प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक गरिएको छ । गुरुयोजनाअनुसार १० वर्षमा प्रदेशको ७ हजार २ सय २६ किलोमिटर सडकको स्तरोन्ति गर्ने लक्ष्य राखिएको छ ।

प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आज विराटनगरमा कार्यक्रमको आयोजना गर्दै गुरुयोजना सार्वजनिक गरेको हो । १० वर्षे गुरुयोजना मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङबोले सार्वजनिकीकरण गर्नुभयो । स्वीस विकास नियोगको सहयोगमा तयार पारिएको गुरुयोजनामा १० वर्षमा प्रदेशको ७ हजार २ सय २६ किलोमिटर सडकको स्तरोन्ति गर्ने लक्ष्य राखिएको छ । पाँच–पाँच वर्ष गरी दुई चरणमा सम्पन्न हुने गुरुयोजना कार्यान्वयन गर्न २ खर्ब ४ अर्ब लागत अनुमान गरिएको छ । सो रकमबाट १७१७ किलोमिटर प्रादेशिक लोकमार्ग, २७८६ किलोमिटर सहायक प्रादेशिक लोकमार्ग र २७२३ अन्य प्रादेशिक सडकको स्तरोन्नति गर्न सकिने जनाइएको छ । सो अवसरमा बोल्नुहुँदै मुख्यमन्त्री राईले प्रदेश समुन्नतीको ठोस खाका बनाएर प्रदेश सरकार अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिलामन्त्री आङबोले सार्वजनिक गरिएको सडक गुरुयोजना महत्वाकांक्षी नरहेको बताउनुभयो । उहाँले यसै वर्ष पनि प्रदेश सरकारले सडक क्षेत्रको विस्तारमा पौने ८ अर्बको हाराहारी रकम छुट्याएको बताउनुहुँदै सोहीअनुसार वार्षिक बजेटमा प्रत्येक वर्ष ५ प्रतिशतको दरले थप्दै गए ५ वर्षमा १ सय ५ अर्ब आफ्नै स्रोतबाट उपलब्ध हुने र बाहिरी स्रोतबाट जुटाउनुपर्ने ९९ अर्ब रुपैयाँ जुटाउन पनि खासै समस्या नहुने उहाँको भनाइ थियो । गुरुयोजनामा प्रदेशभित्रका १ सय ३७ स्थानीय तहमा रहेका सडकहरुमध्ये माटोको सडकलाई ग्राभेल गर्ने र कालोपत्रे भएका सडकलाई थप विस्तार र गुणस्तरीय बनाउने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *