विराटनगर । प्रदेश नम्बर १ का नेकपा सांसदहरुले काम कारबाहीबारे सरकारको जवाफ माग गरेका छन् ।
वर्षे अधिवेशन अन्त्यको संघारमा समिक्षा गर्न आज बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन । दलको बैठकमा वर्षे अधिवेशनको समिक्षा गरेको, मन्त्रालयको कामको समिक्षा भएको, कृषि मन्त्रालयले आव्हान गरेको अनुदानको कार्यक्रमबारे पनि सांसदहरुले प्रश्न उठाएका छन् । यस्तै ठेक्का पट्टामा कमिसनको खेल भएको, मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको, समानुपातिक र निर्वाचित सांसदबीचको विभेद रहेको भन्ने विषयमा पनि सांसदहरुले जिज्ञासा राखेको नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनु भयो । यस्तै दलको बैठकमा प्रदेशको नामाकरण पनि छिटो गर्नुपर्छ भन्ने कुरा उठाएको सचेतक राजभण्डारीको भनाइ छ । सबै सांसदहरुको आफ्ना कुरा राखेपछि मुख्यमन्त्री तथा दलका नेता शेरधन राईले बैठकलाई सम्बोधन गर्दै आगामि दिनमा सरकारले सबै विषयलाई ध्यानमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।