Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रतिपक्ष दलका कारण प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध

प्रतिपक्ष दलका कारण प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध

विराटनगर । प्रदेश १ प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको अवरोधका कारण संचालन हुन सकेन । प्रदेश सरकारले सदनमा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसका सांसद बैठकको सुरुमै उठेर विरोध गरेपछि संसद स्थगित भएको हो ।

मंगलबारको प्रदेशसभा बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकमाथि सामाजिक समितिले दिएको प्रतिवेदन सहित पारित गर्ने कार्यसूची थियो । कार्यसूची अनुसारसभामुख प्रदीपकुमार भण्डारीले बैठक सञ्चालन सुरु भएको जानकारी गराउना साथ कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । आफ्नो विरोध के विषयमा हो जानकारी गराउन सभामुख भण्डारीले आग्रह गरेपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले एकलौटी ढंगले सरकार अगाडि बढ्न खोजेको बताउनुभयो । उहाँले सरकारले आफूहरुले यसअघि देखि नै देखाएको सदासयतालाई कमजोरी ठानेको भन्दै विधेयकप्रति आफ्नो असहमति रहेको जानकारी गराउनुभयो । कार्कीले आफूहरुको कुराको सुनुवाई नगरी संसद अगाडि बढ्न खोजे रोष्टम घर्ने चेतावनी पनि दिनुभयो । यता संसद स्थगित भएपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले कांग्रेसले नबुझेर संसद अवरुद्ध गरेको बताउनुभयो । उहाँले प्रतिपक्षी दलले राखेका संशोधनका धेरै बुँदाहरु समेटिएको जानकारी दिँदै सरकारले सहमतिका साथ नै विधेयक पारित गर्ने प्रयास गर्ने बताउनुभयो ।

विश्वविद्यालयसम्बन्धी उक्त विधेयकमाथि सामाजिक विकास समितिले दिएको प्रतिवेदनमा पनि कांग्रेसले फरक मत राखेको थियो । पारित प्रतिवेदनमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट फरक मत दर्ज गर्दै कांग्रेसका प्रमुख सचेतकले विधेयक एकलौटी पारित गर्न खोजिएको उल्लेख गरेका छन् । जसका कारण नेकपाले बहुमतले पारित गर्ने र कांग्रेसको विरोध गर्ने तयारीले प्रदेश १ मा पनि विवाद र असहमतिको श्रृंखला सुरु हुने हो कि भन्ने चिन्ता बढेको छ । प्रदेश सरकारले अहिलेसम्म ३६ वटा कानुन निर्माण गरिसकेको छ । जसमध्ये ६ वटा ऐन संशोधन गरिएको छ । त्यसका साथै प्रदेशको राजधानीको विषय पनि सहमतिमै टुंगोमा पुर्याएको प्रदेशसभा र सरकारका लागि मनमोहन प्राविधिक विश्वविद्यालय भने बहुमतबाटै टुंगोमा पुग्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *