ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दवाव दिनु भएको छ ।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क समेत गर्नु भयो । आज पार्टी केन्द्रिय कार्यालय, सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि कांग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प नरहेको पनि बताउनु भयो । आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ । कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दावी पनि गर्नु भयो ।