Thursday, November 21, 2024
Home > मुख्य समाचार > पाँचथरमा २ परिवारका ९ जनाको हत्या

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

पाँचथर । पाँचथरमा २ परिवारका ९ जनाको हत्या भएको छ । अज्ञात समूहको आक्रमणमा परी एक बालिका गम्भीर घाइते भएकी छिन् ।

मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिनुभएको छ । गएराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको छ । ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरातमा भएको घटना स्थानीय बासिन्दाले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । यसैबिच हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्। घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिनुभएको छ । त्यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि घटनास्थलतर्फ जाने तयारी भइरहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । यस्तै प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ जाने तयारीमा रहनु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *