Saturday, January 18, 2025
Home > आर्थिक समाचार > पछिल्लो समय होमस्टेमा बस्ने पर्यटकहरुको संख्या बढ्दै

पछिल्लो समय होमस्टेमा बस्ने पर्यटकहरुको संख्या बढ्दै

पछिल्लो समय होटलहरुमा भन्दा होमस्टेमा बस्ने पर्यटकहरुको संख्या बढ्दै गएको छ । विदेशी पर्यटकहरु समेत महिनौसम्म इलामका होमस्टेमा बिताउन थालेका छन् ।

पछिल्लो समय इलाममा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, आन्तरिक पनि आकर्षण बढेको हो । सुकिलो सडकमा हुइकिएर स्टार होटलमा बसेर आनन्द लिँदा बेग्लै मजा होला तर गाउँघरमा फन्को लगाउँदै गाउँले परिवेशमा बसेर रमाउँदा बेग्लै अनुभूति लिन सकिन्छ । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे रोजाइमा पर्ने गर्दछ । फरक गाउँको फरकफरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा मिल्ने गर्छ । पछिल्लो समय इलामका होमस्टेमा तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेका छ । इलामको माइपोखरी, फिक्कल लगायतका होमस्टेमा पालैपालो २० भन्दा बढि देशका पर्यटकहरु महिनौसम्म बस्ने गरेका छन् ।

तीन बर्ष अगाडी सम्म खासै पर्यटकहरुको आर्कषणमा पर्न नसकेका होमस्टेहरु विस्तारै पर्यटकहरुको रोजाईमा पर्न थालेका पाइन्छ यहाँको राम्रो वातावरण र रहनसहनले आकर्षित बनाएको उनीहरुको भनाई छ । धेरै विदेशी हिमालको पदयात्रामा जाने भएपनि केहिले इलामलाई गन्तव्य बनाउन थालेका छन् । पर्यटकलाई खान र बस्न सहज हुने भएकाले पनि घुम्न आउने गरेको होमस्टे सञ्चालक बताउछन ।

महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ । होमस्टेमा बस्र्ने पर्यटकले एकै परिवारमा जस्तै गरी बस्ने गर्दछन । उनीहरु धेरै होमस्टेमा गाइको थलो भकारो सोर्ने, घाँस काट्ने, घरको काम सघाउने, खाना पकाउने, दुध डेरीमा पुर्याउने समेत गर्दछन् । धेरै जसो पर्यटकहरु हप्तादिनदेखि एक महिना दिनसम्मको समय मिलाएर बस्ने गरेका छन् । होमस्टेबाट यहाँको कला, संस्कृति, भेषभुषा, खानपानमा रमाउन पाउँदा खुसी हुँदै उनीहरुले इलामको बसाई ज्यादै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

होमस्टेमा बस्ने विदेशीले अनलाइन मार्फत सिधै समय मिलाउने गरेका छन् । पर्यटकका लागि सुविधा मात्र नभएर यहाँको पहिचान झल्कने घर, रहनसहन, र हरियालीले पनि आकर्षित बनाएको देख्न सकिन्छ । फ्रान्स, जर्मनी, जापान, इटाली, नेदरल्याण्ड र कोरीया लगायतका देशका नागरिकले इलामका लोभलाग्दा होमस्टेको स्वाद लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *