सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको चुनौती पुलिसले सडन डेथबाट समाप्त गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा ५–४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अन्जन राई र भोला सिलवालको प्रहार गोलमा परिणत भएको थियो भने सुमन लामा र हरि कठायतको प्रहार बाहिरिएको थियो । त्यस्तै, एपीएफका लागि सुदिप शिख्रकार, नविन लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए । खेलको पहिलो हाफमा सशस्त्र प्रहरीले गोल गर्दै अग्रता लिएको थियो तर दोस्रो हाफमा पुलिसले एक गोल गरेर खेललाई बराबरीमा पुराएको थियो । पुलिसका भोला सिलवाल खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद १० हजार पुरस्कार पाउन सफल भए । १० वटा टिम सहभागी गोल्डकपमा भोलि त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।