काठमाडौं, ४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्ने निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसंगको प्रश्नोत्तरको समय सकिएपछि बोल्दै प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांडले तत्काल ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्नु निन्दनिय कुरा भन्दै उहाँले अबिलम्ब निर्णय गर्न माग गर्नुभयो ।प्रधानमन्त्रीको जवाफ चित्त बुझ्दो नभएपछि कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । सरकारले पुर्वाग्रह राखेर दुई नेताको नाममा खोलिएको स्वास्थ्य संस्था विघटनको प्रक्रियामा लैजाने निर्णय गरेको भन्दै कांग्रेसले आपत्ती जनाउदै आएको छ ।