Saturday, January 18, 2025
Home > मुख्य समाचार > नागढुंगा सुरुङ मार्गको शिलान्यास

नागढुंगा सुरुङ मार्गको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङ मार्गको शिलान्यास गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको इतिहासमै पहिलो पटक राजमार्ग अन्तरगतको सो सुरुङ मार्गको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नेपाल सुरुङ मार्गको नयाँ युगको प्रवेश गरेको उल्लेख गर्दै आम नेपाली जनतालाई बधाई दिनु भयो । प्रधानमन्त्री ओलीले जलविद्युतको क्षेत्रमा, सिंचाईको क्षेत्रमा नहरहरु बनेपनि राजमार्गमा सुरुङ निर्माणका कार्य पहिलो पटक नेपालमा भएकोमा आफूलाई खुसी लागेको पनि बताउनु भयो । उहाँले सो सुरुङ मार्ग तोकिएको समयमा सम्पन्न गर्न जापानको हाजमा इन्डो कर्पोरेशनलाई सचेत पनि गराउनु भयो । ४२ महिना भित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्ग जापान सरकारको ऋण सहायतामा बन्न लागेको हो । उहाँले आफू नेतृत्वको वर्तमान सरकारले नेपालको ईतिहासमा यति धेरै सडक निर्माण गरेको कहिल्यै नभएको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले अव सडक पेटीमा कुनै पनि मानिस देख्न नपर्ने दावी पनि गर्नु भयो । उहाँले सडक पेटीमा कोही मानिस भए सरकारले उनीहरुको आवासको व्यवस्था गर्ने आश्वासन पनि दिनु भयो । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो सुरुङ मार्ग निर्माणको काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले काठमाडौंको सडक आगामी पुस महिनाभित्रसम्म कालोपत्रे गरिसक्ने दावी पनि गर्नु भयो । कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत मासामिची साईगोले सो सुरुङ मार्गको निर्माण कार्यले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका सघाउ पुर्याउने विश्वास व्यक्त गर्नु भयो । जापानको ऋण सहयोगमा निर्माण हुने लागेको सो सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर रहेको छ । १३ अर्व ५० करोड बजेट लाग्ने अनुमान गरिएको सो सुरुङ मार्गका लागि जापान सरकारले नेपाललाई शून्य दशमलव शुन्य १ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *