Saturday, January 18, 2025
Home > मुख्य समाचार > धर्मगुरु फाल्गुनन्दको सम्झना

धर्मगुरु फाल्गुनन्दको सम्झना

किरात समुदायमा समाज सुधारको अभियान सुरु गर्नुहुने नेपालका १६ औं राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रदेश एक सरकारको तयारी छ । चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तिर्थभूमि फक्तालुङलाई धर्म गुरु लिङ्देनसँग जोडिएकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको हो ।

पूर्वी नेपालको इलाममा जन्मनुभएका फाल्गुनन्द लिङ्देनले १९ सय ८८ वैशाखमा जारी गर्नुभएको सात बुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ । सत्य, दया, शान्ति र अहिंसाको सिद्धान्त बोकेका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताका लागि दिएको शिक्षा आज पनि मननीय रहेको समाजका अगुवाहरुको भनाइ छ । छोरा सरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको छ । किराँत धर्म गुरु आत्मनन्द लिङदेनले नेपाल भारत सीमा विवादका कारण हिंसा हुने हो कि भन्दै अहिंसाको मार्गमा अघि बढ्न किरात धर्मले प्रेरित गर्ने बताउनुभयो ।

धर्मगुरु लिङ्देनले उतिबेलै फाल्गुनन्दले आफ्नो जाती र वंशमा असुरक्षित खानपानको कारणले विकृति मौलाएको अवस्थामा समाज सुधारको आन्दोलन गरेको स्मरण गर्नुभयो । अहिले पनि खानपान, आहार बिहारमा ख्याल गर्न उहाँले सबै अनुयायीलाई आग्रह गर्नुभयो ।
सत्य शान्ति र अहिंसाको संवाहक महागुरु फाल्गुनन्द लिङ्ग्देनको पूर्ण कदमो शालिक मोरङको मिक्लाजुङ गाउँपालिका ३ टाँढी धोविनिस्थित किरात हाङ्साम माङहिम परिसरमा अनावरण गरिएको छ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले विश्वमा हतियारको दम्भ देखाउनेहरु पनि अहिले विश्व शान्तिको चाहनाले पछाडि हट्न बाध्य भएको बताउँदै किरात धर्म गुरु फाल्गुनन्दले दिएको दर्शन अहिले पनि महत्वपूर्ण भएको बताउनुभयो ।

फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँहरु चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तिर्थभूमि फक्तालुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सरकारको तयारी छ । १ नम्बर प्रदेश सरकारले पनि धर्म गुरु लिङ्देनसँग जोडिएका सबै क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *