धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गर्नुभएको छ ।
आज दिउँसो पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर तिलक राईले राजस्वको दर र प्रकृया पुनरावलोकन गर्ने गरी नगर सभामा प्रस्ताव लैजाने निर्णय गर्नुभयो । निर्णयमा राजश्व तथा करसम्बन्धी विज्ञ र सम्बन्धित सरोकारवालाहरु सम्मिलित हुने गरी राजश्व प्रणाली तथा करको दर दायरा अध्ययन तथा पुनरावलोकन गर्न अध्ययन तथा पुनरावलोकन कार्यदल गठन गर्न कार्यपालिका बैठकमा प्रस्ताव लैजाने भनिएको छ । पदभार ग्रहण गर्दै नगर प्रमुख राईले धरान उपमहानगरपालिकाबाट निर्णय गरेको करलाई व्यवहारिक र बैज्ञानिक बनाउने निर्णयलाई सदर गरेको बताउनुभयो । उहाँले करलाई पुनरावलोकन गर्नका लागि सहयात्री दलले समेत कर समायोजन गर्ने निर्णय गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहको सरकारमा पक्ष प्रतिपक्ष नहुने भन्दै उपमहानगरपालिकाको नेतृत्व आफुले गरेपनि सहयात्रामा सबै दल हुने भन्दै सबैको साथ लिदै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कर्मचारीहरुलाई इमान्दारीपूर्वक काम गर्नसमेत मेयर राईले निर्देशन दिनुभयो । उहाँले आफु भन्दा अढाई वर्ष अघि आएका जनप्रतिनिधीसँग भएको अनुभवलाई समेत साथै लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेयर राई उपमहानगरपालिकाको कार्यालय परिसर पुग्दा उपमेयर मञ्जु भण्डारी, वडाध्यक्षहरु लगायत कर्मचारीले भव्य स्वागत गरेका थिए । पदभार ग्रहण गर्नुअघि नगर मेयर राईले धरान–१६ मा रहेको गणेशमान सिंह र धरान–१९ स्थित हरियाली सामुदायिक वनमा रहेको तत्कालीन मेयर तारा सुब्बाको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।