धनुषा । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा ’शक्तिशाली’ हुने अन्धविश्वासले अढाई वर्षीय बालकको बलि दिएको खुलासा भएकोे छ ।
ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेको प्रहरी अनुसन्धानमा पुष्टि भएको हो । बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरको ढोकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महतोले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताउनुभयो । महतोले गर्ने धामीझाक्रीको काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासले आप्नै आँगनमा धारिलो हतियारले रेटेर बालकको हत्या गरेको खुलेको छ । प्रहरीले महतोले हत्याका बेला लगाएका लुगा र प्रयोग गरिएको धारिलो हतियार समेत बरामद गरेको छ । बालकको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । शव भेटिएको अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन । बिहान उहाकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गरेर छाडेको थियो । साहका छिमेकी धामी शत्रुघन महतोलाई पक्राउ गरेपछि घटनाको वास्तविकता खुलेको प्रहरीले जनाएको छ ।