Saturday, January 18, 2025
Home > मुख्य समाचार > धनुषाका किसान पीडामा

धनुषाका किसान पीडामा

जनकपुर । गत असार अन्तिम साता आएको बाढीका कारण धनुषाका किसानले धेरै नै क्षति बेहोर्नु पर्यो । बाढीका कारण भर्खरै रोपेको धान बगाएपछि किसानहरुले बिउको अभावमा फेरि रोपाइँ गर्न सकेनन् । असारपछि पर्याप्त पानी नपरेपछि बगाएर बाँकी रहेको धान पनि सुक्न थालेको छ ।

असार २७ र २८ गतेको वर्षाअघि धान रोपाइँ गरेका कतिपय किसानहरुको धान बाढीले बगाएपछि फेरी धान रोपाइँ गर्नु परेको थियो । बाँकी किसानहरु समयमा धान रोपाई गर्न सकेनन् । धनुषाका १० प्रतिशत किसान धानको बिउको अभावमा रोपाइँ गर्न सकेनन् । धनुषाको कुल ६० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टर जग्गामा धान रोपाई भएको कृषि ज्ञान अध्ययन केन्द्र धनुषाले जनाएको छ । रोपाइँ भएको धानमध्ये ९० प्रतिशतमा पानीको अभावका कारण उब्जाउ नहुने खतरा रहेको कार्यालयले जनाएको छ । धनुषामा यसपाली पानी अभावले धानको उत्पादनमा ९० प्रतिशत ह्रास आउने सम्भावना रहेको बताइएको छ । कृषि ज्ञान अध्ययन केन्द्र धनुषाका अनुसार बाढी तथा खडेरीबाट सबैभन्दा बढी प्रभावित मुखियापटी मुसहरनिया र जनकनन्दनी गाउँपालिका भएको छ । यी दूबै स्थानीय तहमा धेरै कम मात्रामा धान रोपाइँ भएको केन्द्रले जनाएको छ । किसानहरुलाई बाढी र खडेरीले पीडामा पुर्याएको छ नै त्यसमाथि धनुषाका किसानहरु मलको अभावमा समेत मर्कामा परेका छन् । जसो तसो धान रोपाई गरेका किसानहरु मोटर तथा दमकलले खेतमा पानी पटाइरहेका छन् । सिंचाई अभावमा किसानहरुलाई मोटर तथा दमकलकै भर पर्नु परिरहेको छ । तर खेतीपातीका लागि आवश्यक मलको अभावले पनि किसानहरु चिन्तित छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का किसान लक्ष्मण मण्डलले पानी अभाव र पछी डुबानको समस्या समाधान भएपछि ढिलो गरी धान रोप्न सुरु गरे पनि आफुहरुलाई अहिले फेरि मलको चिन्ताले सताएको उहाँले बताउनुभयो । मलका लागि बारम्बार कृषि सामग्री कम्पनी लिमिटेड धनुषा धाउँदै आएपनि मल नपाएर हरेक दिन रित्तै हात फर्किनुपरेको उहाँको गुनासो छ । वर्षौंदेखि किसानले सिजनमा माग गरेको मल पाउन नसकेको भएपनि सरकारले कहिल्यै ध्यान नदिएको किसानहरुको गुनासो छ ।

यता कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त शाखा प्रमुख आलोक झाले धनुषामा मल खाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गर्दै आएको बताउनुभयो । आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेको उहाँको भनाइ छ । उहाँले कृषि सामग्री कम्पनीसँग अहिले ४ हजार ९ सय बोरा डिएपि, ४ सय ४० बोरा युरिया र २८४० बोरा पोटास रहेको जानकारी दिनुभयो । उहाँले हाल युरियाको सटेज रहेको र युरिया कलकत्तामा आइसकेकोले केहि दिनमै जनकपुर आइपुग्ने बताउनुभयो । उहाँले मलको अभावभन्दा पनि आफुहरुले किसानलाई सहकारी संस्थामार्फत मलदिने प्रावधान रहेकोले किसानहरु सहकारि मार्फत मललिन आएमा आफुहरु मल दिन तयार रहेको प्रस्ट पार्नुभयो ।

रोपाइँ गर्ने बेलामा हरेक वर्ष किसानले मल र सिंचाइको अभाव झेल्दै आएका छन् । समयमै मल उपलब्ध गराएर राज्यले सिचाईंको भरपर्दो व्यवस्था मिलाउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *