Saturday, January 18, 2025
Home > मुख्य समाचार > डेढ महिनादेखि फोहोर नउठ्दा भेडेटार दुर्गन्धित

डेढ महिनादेखि फोहोर नउठ्दा भेडेटार दुर्गन्धित

धनकुटा । प्रदेश–१ को प्रमुख पर्यटकीय गन्तव्य सुनसरी र धनकुटाको संगमस्थल भेडेटारमा डेढ महिनादेखि फोहोर नउठ्दा बजार क्षेत्र दुर्गन्धित भएको छ । धरान उपमहानगरपालिकाले भेडेटार बजारको फोहोर नियमित रुपमा उठाउँदै आएको भए पनि धनकुटाको साँगुरीगढी गाउँपालिका क्षेत्रको फोहोर भने धरानले उठाउन छाडेपछि भेडेटार दुर्गन्धित हुन थालेको हो ।

भेडेटार बजारको अधिकांश भूभाग धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्छ भने केही भूभाग धरान उपमहानगरपालिका क्षेत्रमा पर्दछ । धरान उपमहनगरपालिकाको भूभागमा पर्ने क्षेत्रबाट अहिले पनि धरान उपमहानगरले फोहोर नियमित रुपमा उठाउँदै आएको छ । तर साँगुरीगढी गाँउपालिकाको क्षेत्रमा भने फोहोर उठाउन छाडेको छ । धरान र साँगुरीगढीको नेतृत्वबीच केही समय धरानले फोहोर उठाइदिने सहमती थियो । तर साँगुरीगढी गाँउपालिकाले फोहोर व्यवस्थापनतर्फ ध्यान नदिएको भन्दै गाँउपालिकाको क्षेत्रमा फोहोर उठाउन छोडेको हो । फोहोर नउठ्दा अहिले भेडेटार दुर्गन्धित हुन थालेको छ । फोहोरका कारण भान्साकोठामा समेत झिँगा र भुसुना बढेको होटल व्यवसायी विश्व श्रेष्ठले बताउनुभयो । उहाँले धरानले फोहोर उठाउँदै आएको भए पनि उठाउन छोडेपछि भेडेटार दुर्गन्धित बनेको उल्लेख गर्नुभयो । उहाँले अहिले भेडेटारका सडकमा मास्स लगाएर हिड्ने अवस्था आएको तथा पर्यटकहरुलाई समेत असर पुगेको बताउनुभयो ।  श्रेष्ठले पटकपटक भन्दा समेत गाउँपालिकाले सुनुवाई नगरेको गुनासो गर्नुभयो । अर्का होटल व्यवसायी आकाश आचार्यले डेढ महिनायता फोहोर नउठाउँदा पाहुँना आउँदा फोहोरलाई छोप्नुपर्ने अवस्था आएको बताउनुभयो । आचार्यले डेढ महिना बितिसक्दा पनि गाँउपालिका फोहोर व्यवस्थापनमा गम्भिर नभएको आरोप लगाउनुभयो ।

साँगुरीगढी गाँउपालिकाका अध्यक्ष कुमारजंग याक्खाले दशै तिहारसम्म धरानलाई नै फोहोर उठाइदिन आग्रह गर्दै समन्वय भएको र अब चाँडै भेडेटारको फोहोर उठ्ने दाबी गर्नुभयो । उहाँले डम्पिङ साइड निर्माणको पहल भइरहेको पनि बताउनुभयो . फोहोरको समस्यालाई दिगो रुपमा आफैले व्यवस्थापन गर्न लागि परिरहेको बताउँदै त्यसका लागी दशैतिहारसम्म धरान उपमहानगरपालिकालाई फोहोर उठाइदिन आग्रह गरेको बताउनुभयो । यता धरान उपमहानगरपालिकाकाका वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख भेषराज घिमिरेले भने गाँउपालिकाले फोहोर व्यवस्थापनमा चासो दिएर निश्चित समय माग गर्छ भने निश्चित समयसम्म फोहोर उठाइदिन धरान तयार रहेको प्रस्ट पार्नुभयो । घिमिरेले करिब ३ वर्षदेखि गाँउपालिकाको क्षेत्रबाट फोहोर उठाउँदै आएको तर सधै भेडेटारको फोहोर उठाउन नसक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *