झापा । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको संक्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ ।
डेंगुको संक्रमणबाट मृत्यु हुनेमा मोरङ मंगलवारे स्थायी घर भएका कमल गाउँपालिका ४ स्थित मामा घरमा बस्दै आएका १४ वर्षीया बालक रिजेन राई रहेको कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार मामा घरमै बसेर फोनिक्स अंग्रेजी विद्यालय कमलमा कक्षा ९ मा अध्ययनरत बालक राईको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । बुधवारदेखि बिरामी परेका बालक राईलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रवार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र वीपीमा उपचारका लागि सघन उपचार कक्ष खाली नभएपछि विराटनगर ल्याउदै गरेको अवस्थामा उनको बाटैमा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताउनुभयो । सुनसरीको धरानबाट फैलिएको डेंगुको संक्रमणबाट झापामा हालसम्म २७ जना विरामी फेला परिसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।