दिल्ली पब्लिक स्कुलको गेट नजिकै गएराती बम विष्फोट भएको छ । मध्यरातमा गएराति साढे १२ बजे विष्फोट भएको हो । बिष्फोटबाट स्कुलको गेटमा सामान्य क्षति भएको छ भने पर्खाल चर्किएको छ । यस्तै प्रतिष्ठानका डाक्टरहरु बस्ने क्वाटरको झ्यालका सिसा पनि फुटेका छन् । बिष्फोट कसले गराएको भन्ने बारे खोजी र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताउनुभयो । त्यस्तै सुष्मा गोदावारी कलेज इटहरीमा गएराती बम बिस्फोट भएको छ । बिप्लव समुहले बम बिस्फोट गराएको बताइएको छ ।कलेजको गेटमा भएको बिस्फोटबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ । राती सवा १२ बजे बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । यता कलेजका प्रन्सिपल बोधराज नेपालले विप्लव समुहले चन्दा नदिएकै कारण बम बिस्फोट गराएको हुन सक्ने बताउनुभयो । एक हप्ता अघिदेखि पाँच लाख चन्दा माग्दै पत्र पठाएको र मान्छेपनि आएको तर चन्दा नदिएपछि फोनबाट धम्की दिएको उहाँले बताउनुभयो । बिष्फोटबाट कलेजको पर्खाल भत्किएको छ अन्य सामान्य क्षतिको बिषयमा जानकारी लिइरहेको उहाँले बताउनुभयो । यता प्रहरीले भने घटनाका बिषयमा अनुसन्धान भइरहेको बताएको छ ।