झापाको भद्रपुरमा एकै रातमा तीन ठाउँमा आगलागी भएको छ । तीन ठाउँमा भएको आगलागीबाट करिब ११ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल ग्यारेज, फर्निचर उद्योग र धानको परालमा राती ३ घण्टाको अन्तरालमा आगलागीको घटना भएको हो । तीन वटै आगलागीका घटना नियोजित भएको प्रहरीको आशंका छ । वडा प्रहरी कार्यालय भद्रपुरले यस बिषयमा अनुसंन्धान गरिरहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार बुधवार ९ बजे भद्रपुर ८ स्थित सगरमाथा चोक पश्चिममा रहेको मोहम्मद हुसेन अन्सारीको फर्निचर उद्योगमा आगलागी हुँदा करिब ४ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ । त्यस्तै राती साढे १२ बजे भद्रपुर ८ स्थित अस्पताल चोक नजिकै रहेको भुपेन्द्र यादवको जनता ग्यारेजमा आगलागी हुँदा करिब ६ लाख ३९ हजार बराबरको क्षति भएको छ । राती १० बजे भद्रपुर ८ स्थित फुलबारी टोल बस्ने गंगा बहादुर खडकाको १५ मन धानको कुनिउमा आगलागी भएको छ । आगलागीबाट करिब १५ हजार क्षति भएको प्रहरीले जनाएको छ तीनै ठाउँमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो । व्यक्तिगत रिसीवी वा लागुऔषध सेवक गर्ने युवाहरुले सो घटना गराएको हुन सक्ने प्रहरीको आशंका छ ।