Saturday, January 18, 2025
Home > मुख्य समाचार > झापाको कन्काई नगरपालिका १ र २ का स्थानीय बासिन्दा वर्र्षाैंदेखि दूषित पानी पिउन बाध्य

झापाको कन्काई नगरपालिका १ र २ का स्थानीय बासिन्दा वर्र्षाैंदेखि दूषित पानी पिउन बाध्य

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको कन्काई नगरपालिका १ र २ का स्थानीय बासिन्दा वर्षौंदेखि दूषित पानी पिइरहेका छन् । यहाँका स्थानीय आर्सिनिकयुक्त पानी बर्षौंदेखि पिउन बाध्य भइरहे पनि उनीहरुको समस्या सरकारले सुनेको छैन ।

झापा जिल्ला प्रधानमन्त्रीको गृह जिल्ला भएकै कारण बिकासको पूर्वधार निमार्णको क्षेत्रमा अघि देखिन्छ । सडक बनेका छन् । नाला बनेका छन् । ठूला–ठूला अस्पताल बने तर मानिसको दैनिक आवश्यक पर्ने खानेपानी दूषित पिउन बाध्य रहेका छन् । कन्काई नगरपालिका १ र २ वडाको दुर्गापुरका बासिन्दाको पानीको स्रोत ट्यूवेल, ईनार रहेको छ । सो क्षेत्र चुरेको फेदमा पर्दछ । तराईका क्षेत्रमा जमिनमुनीबाट निकालेको पानी पिउने चलन वर्षौंदेखि चलेको छ । कुनै–कुनै जमिनमा खनिज पदार्थको मात्रा धेरै हुने हुनाले पानीको रङ्ग मात्र परिवर्तन हुँदैन दूषित पनि हुने गर्दछ । यहाँबाट निस्कने पानी भने निकै नै फरक किसिमको रहेको छ । फिल्टर गर्दा पनि फिल्टर नै केही दिनमा सफा गर्नुपर्ने स्थानीयको गुनासो रहेको छ ।

चुनावको समय राजनैतिक दलका नेताहरुले स्थानीयसँग पहिलो प्राथमिकता पानी दिन्छौ । स्वच्छ खानेपानी पिउने वातावरण मिलाउँछौ भन्दै भोट मागेको स्थानीयको गुनासो छ । तर चुनाव भएर भोट दिएर जिताएका नेताहरु अहिले फर्किएर नआएको उनीहरुको दुखेसो छ । गाउँका अधिकांश घरहरुमा फिल्टर गरेर मात्र पानी पिउनुपर्ने बाध्यता रहँदै आएको छ । यस विषयमा स्थानीयले पटकपटक आवाज उठाए पनि हालसम्म सुनुवाई नभएको स्थानीयको गुनसो रहेको छ । समिति बनाएर पानीको उचित व्यवस्था गर्ने प्रयास गरे पनि सरकारले भने यहाँका ९०० घर परिवारका करिब १० हजार सर्वसाधारणलाई बेवास्ता गरेको देखिन्छ । यस वडाका जनप्रतिनिधिले आफ्नै सरकारप्रति विरोध जनाए पनि सरकारले उचित ब्यवस्था गरेको पाइँदैन ।

स्थानीयको समस्या समाधानका लागि सरकारी तवरबाट दुईवटा खानेपानी योजना अघि बढे पनि सरकारले आवश्यक पर्ने जति बजेट नदिएपछि स्थानीय आक्रोशित छन् । झापा जिल्ला क्षेत्रमै यो समस्या देख्दा पनि सरकारले खासै चासो नदेखाउनु कहाँसम्मको दुःखको कुरा हो । दूषित खानेपानी पिउँदा विभिन्न रोगको सिकार हुँदै बस्नुपर्ने अवस्थामा रहेका झापा कनकाई नगरपालिका क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानी पिउने व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व हो । नत्र भने जलस्रोतको धनी राष्ट्र भनेर नारा लगाउनु बेकार हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *