झापा । गएराति झापाको अर्जुनधाराबाट प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेकोछ ।
सो विस्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले आइतवार बेलुका अर्जुनधारा नगरपालिका वडा नं. १ सिस्नेबाट सो विस्फोटक पर्दाथ बरामद गरेको हो । विष्फोटक पदार्थ दुई सय पाँच लोला अर्थात करिव २५ केजी फेला पारी अनुसन्धान भईरहेको झापाका एसपी दिनेशराज मैनालीले बताउनुभयो । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधी हो भनी विप्लव समूहका झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविण मिश्र, झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, झापा जिल्ला सदस्य टिकाराम पोखरेल लगायतका व्यक्तिहरुले करिब एक महिना अगाडी उक्त स्थानमा ल्याई लुकाईछिपाई भण्डारण गरि राखेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बरामद गरिएको विस्फोटक पदार्थ बम बनाउन प्रयोग हुने र यो निक्कै खतरनाक विष्फोटक पदार्थ भएको बताउनुभयो ।