Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहर अन्तर्राष्ट्रिय आतंककारी घोषणा

जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहर अन्तर्राष्ट्रिय आतंककारी घोषणा

एजेन्सी । पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंककारी घोषणा गरेको छ ।

यसबारे सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुद अजहरको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ । उनले आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ । पाकिस्तानले भने मसुद अजहरलाई आतंककारी घोषणा गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रतिवन्ध समितिको निर्णयप्रति प्रश्न उठाएको छ । यो समितिले कुनै पनि निर्णय गर्दा सर्वसम्मतीबाट गर्छ तर, चीनको विरोध हुँदाहुँदै आतंककारी घोषणा गरिएको पाकिस्तानको भनाइ छ । यद्यपि पाकिस्तानले आफ्नो भूमिबाट कुनै पनि संगठनलाई आतंक फैलाउन नदिइने बताएको छ र आतंकवाद अन्त्य गर्ने संकल्प पनि गरेको छ । भारतले मसुद अजहर नेतृत्वको जैश ए मोहम्मदलाई भारतका धेरै स्थानमा भएका आक्रमणमा जिम्मेवार मान्दै आएको छ । हालै पुलवामा भएको आक्रमणमा पनि जैश ए मोहम्मदकै हात भएको भारतको दाबी छ । अहिले संयुक्त राष्ट्रसंघले आतंककारी घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्र संघको निर्णय भारतको ठूलो सफलता भएको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *