Saturday, January 18, 2025
Home > मुख्य समाचार > जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड

जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड

विराटनगर । जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार एकै दिनमा १ सय ३८ जनाले वंशजको नागरिकता लिएका छन् ।

गृहमन्त्रालयले परिपत्र गरेलगत्तै पहिलो पटक मोरङबाट गत बुधबार इशा चौधरी अग्रवालले वंशजको नागरिकता प्राप्त गरेकी थिइन् । बिहिबार एक सय ३८ जनाले नागरिकता प्राप्त गरे भने अन्य ६२ जना प्रक्रिया पुरा गरेर नागरिकता लिने लाइनमा छन् । नागरिकता लिनेको भिड बढेसँगै जिल्ला प्रशासन कार्यालयले नागरिकता सिफारिस फाँटमा कर्मचारी थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद पाण्डेले बताउनुभयो । सामान्य दिनमा नागरिकता सिफारिसका लागि एक जना प्रशासकिय अधिकृत खटाइएको भएपनि अहिले दुई जनालाई सिफारिसमा खटाइएको र सात जना सहयोगि नागरिकता फाँटमा खटाइएको उहाँले बताउनुभयो ।

नागरिकता नहुँदा उच्च शिक्षा तथा सामान्य रोजगारी गर्न समेत समस्या हुँदै आएको आफ्नी छोरी रुहि अग्रवालको नागरिकता बनाउन पाउँदा आफूलाई खुसी लागेको विराटनगरका श्रवण अग्रवालले बताउनु भयो । अहिले खुलेको नागरिकता फेरि बन्द हुने हो की भन्ने डर आफूलाई भएर तत्काल आएको उहाँको भनाइ छ । मोरङमा २० हजार ४ सय ९१ जनाले जन्मका आधारमा नागरिकता प्राप्त गरेका छन् । मोरङमा वि.सं. २०२० सालदेखि चालु आर्थिक वर्षको चैत २० गतेसम्ममा १५ हजार ८ सय चार जनाले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *