Saturday, January 18, 2025
Home > मुख्य समाचार > चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने तय भएको छ ।

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीले शनिबार र आइतबार नेपाल भ्रमण गर्ने तय भएको जनाएको हो । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा बिभिन्न दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ । चीनका राष्ट्रपतिको झण्डै साढे २ दशकपछि हुन लागेको नेपाल भ्रमणलाई लिएर सरकारले यसअघिबाटै तयारी तीब्र पारेको थियो । राष्ट्रपति भण्डारीको निमन्त्रणामा काठमाडौं आउन लागेका राष्ट्रपति सीको नेपाल भ्रमण क्रममा केरुङ–काठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का केही नेपाल प्रस्तावित परियोजनामा सम्झौता हुने सम्भावना देखिएको छ । राष्ट्रपति सी सहितको विशिष्ठ प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग आइतबार द्विदेशीय बैठक गर्ने भएको छ । बैठकपछि सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रपतिको सम्मानमा नेपाली समकक्षी भण्डारीले शनिबार विशिष्ठ रात्रीभोजको आयोजना गर्नुहुनेछ । सीको भ्रमण लक्षित सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएको सरकारको दाबी छ । चिनियाँ टोलीले गत बुधबार त्रिभुवन विमानस्थलको अवस्था, उडान र अवतरणबारे पूर्वअभ्यास गरेको थियो । शुक्रबार भारतको चेन्नई जाने राष्ट्रपति सी शनिबार त्यहीबाट काठमाडौं आउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *