Saturday, January 18, 2025
Home > आर्थिक समाचार > चाडपर्व नजिकिँदै गर्दा तेह्रथुममा पनि बजार अनुगमनलाई तीव्रता

चाडपर्व नजिकिँदै गर्दा तेह्रथुममा पनि बजार अनुगमनलाई तीव्रता

तेह्रथुम । चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वका बेला व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै प्रशासन कार्यालयले अनुगमनको कामलाई गति दिएको हो ।

हिन्दुहरुको महान चाड दसै नजिकिएसँगै जिल्लाका अधिकांश बजारमा ग्राहकहरुको चहलपहल बढेको छ । वस्तुको गुणस्तर तथा मूल्यमा उपभोक्ता नठगिउन् भन्ने उदेश्य साथै बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि रोक्न नियमित कार्यक्रम अनुसार बजार अनुगमनको कामलाई अगाडि बढाईएको अनुगमन समिती संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी भक्त खड्काले बताउनुभयो ।
विशेषगरी खाद्यान्न, यातायात, तरकारी फलफूल, पेट्रोलियम पदार्थ, औषधि पसल, माछा मासु लगायतका क्षेत्रमा प्रशासनले अनुगमन गरिरहेको छ । बजार अनुगमनका क्रममा कैफियत फेला परे त्यस्ता सामान तत्काल नष्ट गरी कारबाही गरिएको छ । अनुगमनले ग्राहकहरुलाई सचेत र व्यापारीहरुलाई समेत जिम्मेवार बनाउने म्याङलुङबजारका व्यापारी होमकाजी श्रेष्ठको भनाई छ । बजारमा व्यवसायीले नुनदेखि सुनसम्ममा ठगिरहेका हुन्छन् । उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नहुँदा बजार व्यवस्थित बन्न नसकेको उपभोक्ताको गुनासो छ । त्यसमाथी पनि चाडपर्वमा मात्र गरिने बजार अनुगमनले वास्तविक ग्राहक ठगिने स्थानिय शरणकुमार रिजालले बताउनुभयो ।

सरकारले मुहानमै सफा गर्ने गरी बजार अनुगमन गर्ने बताए पनि प्रभावकारी हुन सकेको छैन । उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएपछि प्रभावकारी बन्न नसकेको हो । साना ठुला गरि दर्जनबढि बजार रहेको तेह्रथुममा करिब एक हजार पसल तथा व्यासाय दर्ता भई संचालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *