झापा । आज विहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० बर्षीय प्रकाश राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार मृतक राउतकी श्रीमती ३५ बर्षीया सुनिता राउत र उनकी भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको जनाइएको छ । दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ । विहान ८ बजे खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्याएकोमा प्रकाशको उपचारको क्रममा मृत्यु भएको डिएपसी श्रेष्ठले बताउनुभयो ।