Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > गुरुकुलमा विद्यालय नाटक महोत्सव सुरु

गुरुकुलमा विद्यालय नाटक महोत्सव सुरु

विराटनगर । अरुबेला नाटकका दर्शकका रुपमा नाटकघर पुग्ने विद्यार्थीहरुले यसपटक नाटक मञ्चन गर्ने भएका छन् । समाजको ऐनाको रुपमा लिइने नाटकमा विभिन्न ९ वटा विद्यालयका विद्यार्थीले आ–आफ्ना कथा बोल्नेछन् । आरोहण गुरुकुल विराटनगरले आज विराटनगर विद्यालय नाटक महोत्सव २०७६ को शुभारम्भ गरेको छ ।
नाटकप्रति आकर्षित विद्यालय र विद्यार्थीलाई सहभागी गराउँदै गुरुकुलले विराटनगरमा शुक्रबारदेखि १० दिने विद्यालय नाटक महोत्सवको सुरुवात गरेको छ । विगत ३ दशकदेखि कला र साहित्यको क्षेत्रमा आरोहण–गुरुकुलले काम गरिरहेको छ । रंगमञ्चिय परम्परालाई पूर्नजिवित गराई व्यवसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्दै अन्तर्राष्ट्रिय मञ्चमा दर्जनाँै पटक नेपालको प्रतिनिधित्व गरेको संस्थाले यसपटक विराटनगर शाखाको आयोजनामा विद्यालय नाटक महोत्सव विराटनगरमा आयोजना गरेको हो । नाटकप्रति आकर्षित विद्यार्थीहरुलाई नाटक मञ्चनको अवसर दिँदै रंगमञ्चको क्षेत्र विस्तार गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्बाहाङले महोत्सवको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख तुम्बाहाङले नाटक साहित्यको विद्या रहेको बताउदै समाजमा भएका र व्यक्तिहरुले अनुभूत गर्ने कुरा नाटकमा देखाइने बताउदै साहित्य, कला संरक्षणमा गुरुकुल आरोहणको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । कार्यक्रमपछि आयोजक संस्थाले सुशीला कोइराला नाटक घरमा धिरज राईको लेखन तथा विकास पराजुली र राजेश ठाकुरको निर्देशनमा तयार नाटक म–नैतिक मञ्चन गर्यो ।

भदौ २१ गते शनिबार देखि २९ गते सम्म विभिन्न ९ विद्यालयले नाटक मञ्चन हुनेछन । विराटनगर महानगरपालिका भित्रका ८ र रंगेली नगरपालिकाको १ विद्यालयले नाटक मञ्चन गर्नेछन् । महोत्सवमा विराटनगरको श्री सत्यनाराण मा.वि. ले भदौ २१ गते “अँध्यारो बाटो”,अन्नपूर्ण एकेडेमीले भदौ २२ गते “मेहनत र परिश्रमको फल”, पेरागन एकेडेमी मा.वि.ले भदौ २३ “दशैं”, सेन्ट जोसेफ स्कुलले भदौ २४ गते “लक्ष्मीपूजा”, सप्तकोशी से.बो. स्कुलले भदौ २५ गते “छाउपडी”, बुढानिलकण्ठ से.ई.स्कुलले भदौ २६ गते “नासो”, लिलिपुट प्रिमियर स्कुलले भदौ २७ गते “प्रधानमन्त्री”, श्री श्री रविशंकर विद्या मन्दिरले भदौ २८ गते “चण्डालिका एक अनन्त प्रेम कहानी”र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक स्कुलले भदौ २९ गते “परिवेश” मञ्चन गर्दै नाटक महोत्सव समापन हुनेछ । महोत्सवले आगामी दिनमा विद्यालयलाई नाट्य गतिविधि गर्न समेत प्रोत्साहित गर्ने आयोजक आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो । ९ विद्यालयका १५० भन्दा बढि विद्यार्थीले विभिन्न ९ नाटकमा अभिनय गर्ने तथा करिब ३ हजार भन्दा बढि विद्यार्थीले नाटकको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *