एजेन्सी । वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी ड्राफ्ट आज हुँदैछ ।
आगामी सिजनको सीपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटका लागि आज साँझ नेपाली समय अनुसार पौने ८ बजे लण्डनमा खेलाडी ड्राफ्ट हुन लागेको हो । सीपीएलको ड्राफ्टमा यसपटक चार नेपाली खेलाडी सूचीमा छन् । यस पटकको ड्राफ्टमा कीर्तिमानी ५३६ विदेशी खेलाडीले स्थान बनाएका छन् । नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने, तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका छन् । सन्दीप दोस्रो पटक ड्राफ्टमा परेका हुन् । सन्दीपले गत सिजन ‘सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स’बाट सीपीएल खेलेका थिए । नेपालका अन्य ३ खेलाडी पहिलो पटक प्रारम्भिक सूचीमा परेका हुन् । आज साँझ हुने खेलाडी ड्राफ्टपछि यी चार खेलाडीहरु सीपीएलको कुनै टिममा पर्ने वा नपर्ने भन्ने भाग्य परीक्षा हुनेछ । आगामी जुलाई ११ देखि अगष्ट १६ सम्म हुने सीपीएल क्रिकेटको आगामी संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।