Saturday, January 18, 2025
Home > मुख्य समाचार > क्यान्सर डे को पूर्वसन्ध्यामा विराटनगरमा ‘स्वास्थ्यका लागि दौड’

क्यान्सर डे को पूर्वसन्ध्यामा विराटनगरमा ‘स्वास्थ्यका लागि दौड’

विराटनगर, १९ माघ । सुर्ती सेवन क्यान्सरको मुख्य कारक रहेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले क्यान्सर रोगबाट बच्न सुर्तीको कुलत छाड्नुका साथै सजगता आवश्यक रहेको बताएका छन् ।

विराटनगर प्लाटिनम राउण्ड टेबल–११ र विराटनगर लेडिज सर्कल–५ ले शनिबार विराटनगरमा क्यान्सर रोगबाट बच्नका लागि सचेतनामूलक दौड प्रतियोगिता आयोजना गरेका छन् । विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको एनआइसी एशिया रन फर हेल्थ नाम दिइएको प्रतियोगितामा विराटनगरका विभिन्न कलेजको सहभागिता थियो । क्यान्सर डे को पूर्वसन्ध्यामा क्यान्सर रोगको विषयमा सर्वसाधारणमा चेतना जगाउन सचेतनामूलक कार्यक्रम गरिएको कार्यक्रम संयोजक विकास बेगबानीले बताउनुभयो । ५ किलोमिटरको प्रतियोगितात्मक दौडमा १ हजार युवायुवती सहभागी भएका थिए । संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले झण्डा देखाएर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र ऋचा शर्मासमेत अतिथिका रुपमा सहभागी भएका थिए । कार्यक्रममा अभिनेत्री अधिकारीले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सचेतना र स्वास्थ्यप्रति सजगता महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ न्युरो सर्जन डाक्टर यामबहादुर रोक्काले विकासोन्मुख मुलुकहरुमा क्यान्सरको खतरा बढ्दै गएको बताउनुभयो । उहाँले क्यान्सरको प्रमुख कारकमध्ये धुम्रपान पहिलो स्थानमा रहेको बताउनुभयो ।

प्रतियोगितामा छात्रतर्फ सिटी कलेज विराटनगरका सुम्रित यादव प्रथम भए । यस्तै मेरील्याण्ड कलेजका समिर क्षेत्री दोस्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए । प्रतियोेगितामा छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम भइन् । त्यस्तै सिटी कलेजकी श्रीसन घिमिरे दोस्रो र अर्किड कलेजकी रंजिता माझी तेस्रो भएकी थिइन् । विजयीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ र भ्याकुम क्लिनर प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गायक सुमित खड्काले सांगीतिक प्रस्तुतिसमेत राख्नुभयो । देशका विभिन्न भागमा रहेका राउण्ड टेबलहरुले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । क्रममा राउण्ड टेबलले देशभरिमा ४४ वटा स्कुल आफ्नै साधन श्रोतबाट निर्माण गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *