Saturday, January 18, 2025
Home > आर्थिक समाचार > कृषकहरुद्धारा म्याङलुङमा शाप्ताहिक रुपमा शुक्रबारका दिन लाग्दै आएको कृषि हाटबजार बन्द

कृषकहरुद्धारा म्याङलुङमा शाप्ताहिक रुपमा शुक्रबारका दिन लाग्दै आएको कृषि हाटबजार बन्द

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा शाप्ताहिक रुपमा शुक्रबारका दिन लाग्दै आएको कृषि हाटबजार बन्द गरिएको छ । जिल्लामा रहेको कृषि ज्ञान केन्द्र र पशु विज्ञ शाखा मार्फत जिल्लाबाटै कृषकहरुलाई सेवा दिनु पर्ने मागलाई सुनुवाई नगरिएको भन्दै कृषकहरुले हाटबजार आफै बन्द गरेका हुन् ।

तेह्रथुममा रहेको जिल्ला पशुसेवा कार्यालय र कृषि बिकास कार्यालयको कामकाज धनकुटाबाट सञ्चालन हुने भए पछि यहाका कृषकहरु कृषिजन्य सेवाबाट बञ्चित भएको भन्दै आन्दोलित छन् । किसानको आवश्यकतालाई सरकारले बेवास्ता गरेको कारण आन्दोलन गर्नु परेको जिल्ला कृषक सञ्जालका अध्यक्ष योगेन्द्र गड्तौलाले बताउनुभयो । स्थानीय सरकार आए पनि किसानका लागि आफ्नो सेवा दिने कार्यालय नआएको प्रति किसानहरु निरास छन् । स्थानीय तहपछि सिंहदरबारको अधिकार गाउँ गाउँमा आउने बिश्वासमा बसेका किसानहरुलाई यो संघियताले सुबिधा भन्दा पनि सास्ती दिएको किसान डेढराज श्रेष्ठले बताउनुभयो । अहिले जिल्लामा किसानहरुले उत्पादन गर्ने कृषिबाली र पशुपंन्छीमा कुनै रोग वा समस्या देखिए प्राविधिकको अभाव छ । कृषि ज्ञान केन्द्र कार्यालयको सहयोगीको भरमा सञ्चालित छन् । कृषिसम्बन्धी सानो कामका लागि समेत तेह्रथुमका किसानहरु दुई दिन लगाएर धनकुटा जानु पर्ने बाध्यता रहेको किसान दिपक ढुङ्गानाले बताउनुभयो ।

कृषकहरुले आन्दोलनको पहिलो चरणमा प्रधानमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालय र जिल्लाका सभाषदहरुलाई ज्ञापन पत्र बुझाएका छन् । कृषकहरुको मागलाई वेवास्ता गरिएकाले दोस्रो पटकको स्वघोषित कार्यक्रम अनुसार दबाब स्वरुप कृषकहरुले स्वतःस्फुर्त कृषिजन्य सामाग्री बिक्री गर्न नल्याएका जिल्ला कृषक सञ्चाल तेह्रथुमका अध्यक्ष योगेन्द्र गड्तौलाले बताउनुभयो । जिल्लामा रहेको पशुसेवा र कृषि कार्यालय कर्मचारी नहुदा अहिले सुनसान जस्तै भएको छ । जिल्लामा किसानहरुले उत्पादन गर्ने कृषिबालीको तथ्यांक कृषि ज्ञान केन्द्र र पशु विज्ञ शाखा धनकुटामा समेत छ्रैन । साबिकको जिल्ला कृषि विकास कार्यालय र त्यसअन्तर्गतका सबै संरचना खारेज भएपछि जिल्लामा कृषि प्रसार, प्रविधि हस्तान्तरण तथा सहयोग, तथ्यांक संकलन, बीउबिजन, मिनी कीट वितरण, कृषि परामर्शजस्ता किसान लक्षित सबै कार्यक्रम प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *