Saturday, January 18, 2025
Home > आर्थिक समाचार > किवी खेतीबाट राम्रो आम्दानी

किवी खेतीबाट राम्रो आम्दानी

तेह्रथुम । तेह्रथुमको आठराई खाम्लालुङ गाउँका स्थानीयले किबी खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । राम्रो आम्दानी हुन थालेपछि विदेश र सहर गएका युवाहरु गाउँ फर्किएर व्यावसायिक खेत गर्न सुरु गरेका छन् ।

केही हुँदैन भनेर दैनिक सहरतिर भासिने र त्यतैतिर पलायन हुने क्रम बढिरहेका बेलामा खाम्लालुङका केही युवाहरु भने गाउँमै व्यावसायिक खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । पैसा कमाउन विदेश नै गइरहनु पर्दैन भन्ने गतिलो उदाहरणसमेत दिन सफल भएका छन् उनीहरुले । आठराई गाउँपालिका वार्ड नं २ खाम्लालुङका गजेन्द्र चोङवाङले हाल ४० रोपनी क्षेत्रफलमा किवी खेती गरेका छन् । ६ वर्षअघि सुरु गरेको किवी खेतीबाट उनले गत वर्षदेखि मात्र आम्दानी लिन थालेका छन् । सुरुका वर्षहरुमा सामान्य रुपमा उत्पादन भए पनि यस वर्ष भने उनी गतिलै आम्दानी लिने सफल भएमा छन् । त्यसो त उनले किवीबाहेक अलैची खेती पनि गरेका छन् । अलैचीबाट पनि उनले मनग्गे आम्दानी लिइरहेका छन् । व्यावसायिक किवी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि गाउँका अन्य व्यक्तिले पनि व्यवसायिक खेती सुरु गरेको उनी बताउँछन् ।  त्यस्तै खाम्लालुङ गैरीगाउँमा रमेश इस्बो धरानको बसाई छाडेर पछिल्लो समय गाउँमै फिरेर व्यवसायिक खेती गरिरहेका हुन् । व्यवसायिक किवी खेतीले राम्रो आम्दानी दिने सोचेरै आफू गाउँ फर्किएको रमेश बताउँछन् । यातायातका कारणले उत्पादनलाई बजारमा लैजान जति समस्या छ किवीलाई असिनाबाट बचाउँन पनि उत्तिकै कठीन रहेको इस्बोको भनाइ छ ।

गाउँमा बाटो त पुगेको छ तर वर्षायाम र पानी परेको बेला पैदल नै हिंड्नुपर्ने बाध्यता छ । यातायात नियमित सञ्चालन नहुँदा आफूहरुले उत्पादन गरेका सामग्रीहरुले उचित बजार नपाएको किसानहरुको गुनासो छ । साथै स्थानीयपालिकाले कृषिलाई कुनै महत्व नदिएको गजेन्द्र चोङवाङको गुनासो गर्छन् ।  यता आठराई गाउँपालिका वार्ड नं २ का वडासदस्य गोपी ढुङ्गाना गाउँपालिकाले कृषिमा उचित बजेट छुट्याएको बताउँछन् ।

गाउँमा केही हुँदैन भनेर सहरतिर पलायन हुनुभन्दा गाउँमै बसेर आठराई खाम्लालुङका किसानलेझैं व्यवसायिक किवी खेती गरेर मनग्गे आम्दानी लिने पो हो कि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *