काठमाडौं । कर्मचारी संचय कोषको रकम ३ खर्ब ९ अर्व ८५ करोड पुगेको छ ।
कर्मचारी संचय कोषले आफ्नो स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो । त्यसमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो । कोषले गत श्रावण महिनासम्ममा ३१ अर्व ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ । कोषले जगेडा रकमलाई मुलुकको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी पनि गरेको छ । प्रशासक गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताउनु भयो । त्यसका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर अघि बढने कोषको योजना छ । कर्मचारी संचय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख संचयकर्ताहरु रहेका छन । उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेका १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिनेगरी स्वास्थ्य विमा सेवा पनि संचालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिनुभयो ।